सिङ्गापुर । श्रीलङ्कामा विरोध प्रदर्शन चर्किएपछि देशबाट भागेर माल्दिभ्स गएका राष्ट्रपति गोटाबय राजपक्ष त्यहाँबाट सिङ्गापुर पुगेका छन्। सिङ्गापुर सरकारले उनलाई निजी भ्रमणका लागि आफ्नो देशमा प्रवेश दिएको हो । बीबीसीका अनुसार उनी माल्दिभ्सबाट सिङ्गापुर साउदी एअरलाइन्सको एउटा विमानमा चढेर गएका थिए। अभूतपूर्व आर्थिक सङ्कटको विरोधमा देशमा विरोधप्रदर्शन भइरहेका बेला उनी मङ्गलवार राति भागेर माल्दिभ्स पुगेका थिए। उनीसँग उनकी पत्नी र दुई अङ्गरक्षक पनि थिए।
राजपक्ष सिङ्गापुरमै बस्छन् वा अन्यत्र जान त्यो उनको बिसौनी मात्र हो भन्ने स्पष्ट छैन। यसअघि उनले बुधवारभित्र राजीनामा दिने बताएका थिए। तर उनले अहिलेसम्म औपचारिक रूपमा पदत्याग गरेका छैनन्। राष्ट्रपति हुँदा अभियोगहरूबाट उन्मुक्ति पाएका राजपक्ष नयाँ सरकार बनेपछि हुनसक्ने गिरफ्तारीबाट जोगिन विदेश भागेको अनुमान गरिएको छ।
उनी सिङ्गापुरमा उत्रिएको पुष्टि गर्दै त्यहाँको विदेश मन्त्रालयले भनेको छ, ‘उनले शरण मागेका छैनन्, न त उनलाई कुनै शरण दिइएको छ। सिङ्गापुरले सामान्यतः शरणको अनुरोध स्वीकार गर्दैन।’ राष्ट्रपति राजपक्षले देश छाडेपछि प्रधानमन्त्री रनिल विक्रमसिङ्घ कार्यवाहक राष्ट्रपति नियुक्त भएको समाचार आयो। त्यसपछि विक्रमसिङ्घले देशमा सङ्कटकाल घोषणा गरे।
उनले बिहीवार दोस्रो दिन कर्फ्यू घोषणा गरेका बेला राजपक्ष माल्दिभ्सबाट सिङ्गापुरतर्फ लागेको खबर आएको थियो। विक्रमसिङ्घले स्थानीय समयानुसार बिहीवार १२ बजेदेखि शुक्रवार बिहान ५ बजेसम्मका लागि कर्फ्यू घोषणा गरेका छन्। अहिले श्रीलङ्कामा प्रदर्शन जारी छ। प्रदर्शनकारीहरूले विक्रमसिङ्घको पनि राजीनामा मागिरहेका छन्। गोटाबय राजपक्ष अब कहाँ जालान् भन्ने धेरैको जिज्ञासा छ। तर सोधिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण प्रश्न उनलाई कसले आश्रय देला भन्ने हो।
राजपक्ष अहिले सिङ्गापुरतर्फ लागेका छन्। त्यो उनको मध्यपूर्व जाने ट्रान्जिट मात्र हो वा उनी त्यहीँ बस्छन् भन्ने स्पष्ट छैन। अनि बसिहाले भने त्यहाँ कति समयका लागि बस्छन् भन्ने पनि थाहा छैन। तर स्रोतहरू के भन्छन् भने सिङ्गापुर सरकारले उनलाई त्यहाँ लामो समयसम्म बस्न दिन्छ भन्ने कुरा सन्देहपूर्ण छ। उक्त समृद्ध सानो राष्ट्रले विगतमा विवादास्पद व्यक्तित्वहरूलाई बस्न दिएका उदाहरणहरू छन्।
उदाहरणका लागि, सिङ्गापुरमा बर्माका सैन्य नेता थेन सेन, जिम्बाब्वेका रोबर्ट मुगाबे र उत्तर कोरियाका किम जङ-अन पनि त्यहाँ बसेका थिए। सिङ्गापुरका अधिकारीहरूले आफ्नै जनताबाट पनि आलोचना खेप्नुपर्नेछ किनकि पछिल्ला वर्षहरूमा सिङ्गापुरका जनताहरू पनि निकै मुखर बन्न थालेका छन्।