काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि आइतबार अर्थात साउन एक गतेदेखि लागु हुने गरी कुहिने र नकुहिने फोहर संकलनका लागि तालिका सार्वजनिक गरेको छ। महानगरपालिकाले एक सूचना सार्वजनिक गर्दै कुहिने फोहर सङ्कलन गर्ने दिन आइतबार र बुधबार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमबार र शुक्रबारलाई तोकेको छ। तोकिएबमोजिम नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्नेछ। महानगरपालिकाले एक महिनाअघि नै सूचना जारी गरी फोहर वर्गीकरण गर्नेबारे नगरवासीलाई सचेत र जानकारी गराएको थियो।
पटकपटकको सूचनालाई व्यवस्थित गरी वर्गीकरण नगरिएका फोहर बोक्ने गाडीसम्म ल्याए पुनः घरमा नै फर्काएर कारबाही स्वरूप प्रतिव्यक्ति ५०० जरिवानासमेत गर्ने जनाइएको छ। कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले नागरिकले सोहीअनुरूप व्यवस्थापन गर्नुपर्ने हुन्छ। महानगरको आग्रहलाई बेवास्ता गरे प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने पनि महानगरपालिकाले जनाएको छ।