कामको खोजीमा एक वर्षमा विदेशिए ६ लाख २८ हजार नेपाली

काठमाडौं । नेपालबाट कामको खोजीमा विदेश जाने नेपालीको संख्या एक वर्षमै ६ लाख भन्दा माथि पुगेको छ । कोरोना महामारीका कारण लगातार दुई वर्ष वैदेशिक रोजगारीमा जाने क्रम घटेको थियो । महामारी कम भएसँगै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या छ लाख नाघेको हो । वैदेशिक रोजगार विभागको आंकडा अनुसार असार ३० सम्म ६ लाख २८ हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् ।

यो सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा चार लाख ६१ हजार ८०५ धेरै हो । यस वर्ष मङ्सिरमा मात्र ७४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका थिए । गत साउनमा २५ हजार ४६८ जनाले श्रम स्वीकृति लिएका थिए । नेपाली साउदी अरब र कतारमा सबैभन्दा धेरै गएका छन् । साउदी अरबमा एक लाख ८८ हजार ३९६ र कतारमा एक लाख ८४ हजार ५०३ जनाले श्रमस्वीकृति लिएका छन् ।