काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच एकै मञ्चमा जुहारी चलेको छ । श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वाम तालमेलको प्रस्ताव गरे । जवाफमा ओलीले आफुलाई कम्युनिष्ट ठान्ने भए गठबन्धन तोडेर आउन चूनौति दिए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी एकता नभए पनि वाम तालमेल गर्न श्रेष्ठले प्रस्ताव गरेका थिए । अहिले वामपन्थी नेताहरू एकले अर्कालाई सिध्याउन लागिपरेको उनले बताए। यसो गर्दा वामपन्थी आन्दोलन नै सिध्दिने पनि उनले बताए।
‘वामपन्थी आन्दोलन सिध्दिएपछि के हुन्छ त नेपाल। नेपालको ठोस सन्दर्भमा चाहिँ वामपन्थी आन्दोलन सिध्दियो भने नेपालको राष्ट्रियता कमजोर हुन्छ। र यो देशको अस्तित्व संकटमा पर्छ। त्यसैले देश सिध्याउने काम हामीले नगरौं,’ उनले भने। देश बचाउनको लागि वामपन्थी नेताहरूको एकताको आवश्यकता रहेको उनको भनाइ छ। एकता सम्भव नभए पनि तालमेल वा मोर्चा बनाएर जाऔं भन्ने प्रस्ताव श्रेष्ठले ओलीसमक्ष राखेका थिए। ओलीले भने अहिलेकै अवस्थामा माओवादीसँग तालमेल नहुने सन्देश दिए ।