आईसीसी क्रिकेट विश्वकप लिग टु : नामिबियाविरुद्ध निरिह नेपाल

काठमाडौं । कमजोर ब्याटिङका कारण नामिबिया विरुद्ध नेपालले पुनः घुँडा टेकेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपाल नामिबियासँग ६३ रनले हारेको हो । नामिबियाले दिएको २०० रनको लक्ष्य पछ्याएको नेपाल पूरा ओभर नै खेल्न सकेन । ३७.५ ओभर मात्र क्रिजमा टिेकेको नेपाल १३६ रनमा अलआउट भयो ।


यसअघि पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३८ र आसिफ शेखले ३४ रन बनाए । यस्तै आदिल आलमले २० र रोहित पौडेलले १७ रन जोडे । पवन सर्राफ १० रनमा अविजित रहे । ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।


नेपाललाई अलआउट गर्न नामिबियाका बर्नार्ड स्कोल्ट्जले सर्वाधिक ५ विकेट लिए । उनले ९।५ ओभरमा २ मेडन राख्दै जम्मा २२ रन खर्चिए । जान फ्रांकलिनले ३ विकेट लिए । अयरमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९९ रन बनाएको थियो ।
नामिबियाका लागि कप्तान जेरार्ड एरासमसले सर्वाधिक ५३ रन बनाए । डेभिड विजाले ३४ र डिभान ला कुक र जेजे स्मिथले समान २७ रन जोडे ।

बलिङमा कप्तान सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २९ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २\२ तथा वसिर अहमदले १ विकेट लिए । शृङ्खलाको अन्तिम खेलमा नेपाल र स्कटल्याण्डबीच आज खेल हुँदैछ ।