त्रिभुवन विमानस्थलबाट भित्रने यात्रुको साथबाट ७ महिनामा बरामद भयो ४८० किलो सुन

File

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको विवरण सार्वजनिक गरेको छ । जसबाट विमानस्थल भन्सार कार्यालयले ४५ करोड ५८ लाख राजस्व असुली गरेको छ । झिटीगुन्टा सुविधाको दुरुपयोग गर्दै हवाई यात्रुले ल्याउने सुनमा कडाइ थालेको ७ महिनामै यस्तो परिमाणमा सुन आउने गरेको खुलेको हो । विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईकाअनुसार यस अवधिमा यात्रुहरुबाट ४८० किलो अवैध सुन बरामद भएको छ ।

विमानस्थलमा मंसिरबाट कडाइ थालिएको थियो । दैनिक २१ किलोसम्म सुन बरामद हुने गरेको थियो । अहिले दैनिक एक किलो हाराहारीमा सुन बरामद हुने गरेको छ । कानुनतः विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार राजस्व तिरेर ल्याउन पाउँछन्न् । सुनको गहनाको हकमा अधिकतम २५० ग्रामसम्म साथमा लगाएर आउन पाइने कानुनी व्यवस्था छ ।

जसमध्ये पहिलो ५० ग्रामसम्मको गहनामा राजस्व छुट सुविधा उपलब्ध हुन्छ भने सो भन्दा बढी २०० ग्रामसम्मको गहनाको हकमा भन्सार राजस्व तिरेर मात्र ल्याउन पाइन्छ । १०० ग्राम भन्दा बढी काँचो सुन र २५० ग्राम भन्दा बढी सुनका गहना ल्याएको हकमा त्यस्तो सुन तथा सुनका गहना जफत गरी भन्सार कानुन बमोजिम कारबाही गर्ने व्यवस्था छ।