‘नेजा’ आफ्नो १५औं साधारणसभाको तयारीमा

बोष्टन

नेपाल अमेरिका पत्रकार संघ (नेजा) १५औं साधारणसभाको तयारीमा जुटेको छ। नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीको प्रमुख आतिथ्यता रहने उक्त साधारणसभालाई, यहीँ आउँदो जुलाई २३ र २४ तारिखका दिन अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरमा सम्पन्न गर्ने गरी तयारीमा जुटेको हो। गत वर्ष भर्जिनियामा सम्पन्न सातौं अधिवेशनबाट निर्वाचित कार्य समितिले १५औं साधारणसभामा संस्थाले गरेका क्रियाकलापहरु, भावि योजनाहरु र आर्थिक गतिविधिहरुलाई अनुमोदन गराउने गरी तयारी गरेको छ। त्यसैगरी, संस्थाका अध्यक्ष बिकासराज न्यौपानेले दिनु भएको जानकारी अनुसार साधारणसभाबाट, तयार पारिएको विधान संशोधन, पत्रकारिता आचारसंहिता र पुरस्कार तथा सम्मान विनियमावली समेत पारित गर्ने गरी आवश्यक तयारी गरिएको छ। अध्यक्ष न्यौपानेले तयारीका सम्बन्धनमा जानकारी दिदै भन्नु भयो, ‘हामी साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न कार्य विभाजन गरी तिब्रताका साथ आवश्यक तयारीमा जुटिरहेका छौं। सबैले आ-आफ्नो जिम्मेवारी अनुसार काम गरिरहनु भएको छ।’अध्यक्ष न्यौपानेले सरोकारवालाहरुलाई साधारणसभामा उपस्थितका लागि विशेष अनुरोध गर्दै भन्नु भयो,’ यो वार्षिक साधारणसभा निकै महत्वपूर्ण छ। यसलाई संस्थागत रुपमा बढी भन्दा बढी उपलब्धिमूलक बनाइ सफलतापूर्वक सम्पन्न गर्न गरिमामय उपस्थितका लागि सम्पूर्ण सदस्यहरु तथा सम्बन्धित सबै सरोकारवालाहरुलाई हामी ‘नेजा’ परिवार विशेष अनुरोध गर्दछौं।’

अमेरिकामा सञ्चारकर्मी तथा सञ्चार माध्यमहरुले व्यवसायीक भन्दापनि सामाजिक पत्रकारितामा बढि केन्द्रिकृत भएर नेपाल र नेपालीको पहिचान तथा उथ्थानमा यथासक्य महत्वपूर्ण योगदान पुर्याउदै आइरहेका छन्। अमेरिकामा क्रियाशिल तिनै पत्रकारहरु आवद्ध रहेको संस्था हो -‘ नेपाल अमेरिका पत्रकार संघ(नेजा)।सन् २००७मा स्थापना भएको यस संस्थाले स्थापना कालदेखि नै सामाजिक क्रियाकलापहरुमा आफ्नो महत्वपूर्ण उपस्थिति जनाउनुका साथै संस्थागत रुपमा स्थापित हुन चरणबद्ध रुपमा काम गर्दै आइरहेको छ।

संस्थाका महासचिव सुरज भण्डारीले साधारणसभाका बारेमा दिनु भएको संझिप्त जानकारी अनुसार उद्घाटनसत्र, बन्दसत्र र समापनसत्र गरी तीन चरणमा साधारणसभा सञ्चालन गर्ने गरी कार्यक्रम तालिका बनाइने भएको छ। जस अनुसार उद्घाटन पश्चातको महत्वपूर्ण सत्र ‘बन्दसत्र’मा अनुमोदनका लागि प्रस्तुत हुने महासचिवको संस्थागत क्रियाकलापहरुको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन, विधान संशोधन र पुरस्कार तथा सम्मान विनियमावली उपर आवश्यक छलफल गरी अन्तिम टुंगोमा पुग्ने लक्ष्य राखिएको छ। यस सम्बन्धमा महासचिव भण्डारीले जानकारी दिदै भन्नु भयो,’ साधारणसभामा महासचिव र कोषाध्यक्षहरुले प्रस्तुत गर्नु हुने प्रतिवेदनहरु उपल छलफल गरिने छ र पारित गरिने छ।’ उहाँले भन्नु भयो,’ यो साधारणसभालाई विधान संशोधन, पत्रकारिता आचारसंहिता र पुरस्कार तथा सम्मान विनियमावलीमा पनि विशेष रुपमा केन्द्रिकृत गर्ने छौं।विद्यमान विधान उपर आवश्यक छलफल गरी आवश्यकता अनुसार संशोधन समेत गर्ने छौं भने, पत्रकारितालाई थप व्यवस्थित तथा मर्यादित बनाउन तयार गरिएको आचारसंहिता र पुरस्कार तथा सम्मान विनियमावली उपर पनि आवश्यक छलफल गरी त्यसलाई मुर्तरुप दिनेछौं। यस अर्थमा यो साधारणसभा निकै महत्वपूर्ण भएकाले सदस्यहरु तथा सरोकारवाहरुको गरिमामय उपस्थिति र भूमिकाका लागि विशेष अनुरोध गर्दछौं।’

संस्थाले विधान संशोधनका लागि आवश्यक तयारी गर्न भनी, यस अघि नै गिरिश पोखरेलको संयोजकत्वमा, सदस्यहरु कल्पना घिमिरे, सुजन पण्डित, गोकुल श्रेष्ठ, प्रतिमा बाँस्कोटा, रामचन्द्र भट्ट र मधुकर अधिकारी रहेको सात सदस्यीय विधान संशोधन उपसमित गठन गरेको थियो। सोही जिम्मेवारी अनुसार विधान संशोधन उपसमितिले पनि तिब्रताका साथ आफ्नो जिम्मेवारीको काम गरिरहेको र सदस्यहरुलाई पनि अमुल्य सुझावहरुका लागि अनुरोध गरिएको महासचिव भण्डारीले जानकारी दिनु भयो। उहाँले भन्नु भयो, ‘ मेहनतको कदर स्वरुप वितरण गरिने पुरस्कार र योगदानको कदर स्वरुप गर्ने सम्मानलाई व्यवस्थित गर्न पुरस्कार तथा सम्मान विनियमावली पारित गर्ने तयारी गरेका छौं।’
उक्त विनियमावली तयार पार्न कार्यसमितिले सचिवालयलाई जिम्मेवारी प्रदान गरे अनुरुप, साधारणसभाबाट आवश्यक छलफल गरी पारित गर्ने गरी उक्त विनियमावली तयार पारिसकेको सचिवालयले जनाएको छ।

सन् २००७मा स्थापना भएको यस संस्थाले यसै वर्षदेखि आफ्नो संस्थागत गतिविधिहरुलाई समेटेर वार्षिक वुलेटिन प्रकाशित गर्ने तयारी पनि गरेको छ। त्यसका लागि बाबुराम दाहाल संयोजक तथा लेखनाथ भण्डारी, राजु आचार्य, सुपेन्द्र बस्नेत, रामचन्द्र भट्ट, प्रतिमा बाँस्कोटा र लेखनाथ गौतम सदस्य रहने गरी गठित सात सदस्यीय प्रकाशन उपसमितिलाई जिम्मेवारी सुम्पिएको छ। जस अनुसार प्रकाशन उपसमिले आफ्नो जिम्मेवारी पूरा गर्न सक्रियताका साथ आवश्यक कार्य गरिरहेको जनाइएको छ।

साधारणसभाको तयारीका सम्बन्धमा नेजा सदस्य तथा कन्भेनर शिव नेपालले दिनु भएको जानकारी अनुसार तयारी अन्तिम चरणमा पुगेको छ। संस्थाका सदस्य तथा पाहुनाहरुको स्वागत, खाना तथा बसाइ र कार्यक्रम स्थलको व्यवस्थापन लगायत कार्यहरु लगभग पुरा भैसकेको छ। कन्भेनर नेपालले भन्नु भयो,’ हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ। स्वागतका लागि हामी आतुर छौं। सबैलाई पाल्नु हुन अनुरोध छ।’

यसैबीच, संस्थाले आफ्नो साधारणसभाको अवसर पारेर आमा फाउण्डेशनसंगको सहकार्यमा एक हजार एक सय डलर राशीको ‘नेजा सामुदायिक पत्रकारिता पुरस्कार’ समेत प्रदान गर्ने गरी आवश्यक तयारी गरिरहेको संस्थाले जनाएको छ। त्यसका लागि प्रक्रियामा भाग लिन संस्थाले इच्छुक क्रियाशिल पत्रकार तथा सञ्चार सम्वद्ध संस्थाहरुलाई आव्हान समेत गरिसकेको छ।