पछिल्लो एक साता सेयर बजार उकालो यात्रा कायमै

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । गत सातादेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्लो एक साता सेयर बजार निरन्तर उकालो लागिरहेको छ ।

मंगलबार सेयर बजार मापक सूचक नेप्से १६.२० अंकले बढेर २०४५.६३ को विन्दुमा पुगेको छ । यसअघि सोमबार नेप्से परिसूचक १८.०३ अंकले बढेको थियो ।
यसदिन २१३ कम्पनीको २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँ बराबरको ५७ लाख १३ हजार २४८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा हरियाली छाएको छ । माइक्रो फाइनान्स समूहको सबैभन्दा धेरै १.८५ प्रतिशतले सेयर मुल्य बढेको छ ।
आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ ।

यसको १५ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यस्तै, एभरेष्ट बैंकको १० करोड,हिमालय डिष्ट्रिलरी ८ करोड,एनआइसी एसिया ६ र अरुण काबेली पावर कम्पनीको छ करोड रुपैयाा बढीको कारोबार हुँदै शीर्ष पाँचमा रहे ।

दोहोरो अंकले बढेको बजारमा इमर्जिङ नेपालको सेयर मूल्य सर्वाधिक बढेको छ । यस कम्पनीका लगानीकर्ताले ८.०१ प्रतिशतले कमाएका छन् । यसैगरी गणती लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६.९४,ग्रिन भेन्चरको ५.५४,आइसीएफ फाइनान्सको ५.२७ र गुहेश्वरी मचेन्र्ट बैंकको ४ प्रतिशत बढीले सेयर मूल्य बढेको छ ।
यसदिन सर्वाधिक गुमाउनेमा सिभिल बैंक डिबेन्चरका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्य ७.७५ प्रतिशतले घटेको छ ।