एमालेबाहेकका कम्यूनिष्ट घटकबीच एकताको प्रयास

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच नेताहरुबीच पार्टी एकता गर्ने सम्बन्धमा छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो ।

नेताहरुबीच चुनावी गठबन्धनबारे नेपाली कांग्रेस र एमालेले गरेका निर्णयबारे छलफल भएको हो । बैठकपछि अध्यक्ष प्रचण्डले गठबन्धन कायमै राखेर कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर कुराकानी भइरहेको जानकारी गराए ।

उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकताका लागि पनि सम्वाद भइरहेको हो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धन कायम राख्दै वामपन्थी दल मिल्ने गरी कुराकानी अगाडी बढेको जानकारी दिए ।