कोलम्बो । श्रीलंकामा बुधबार राष्ट्रपति पदको निर्वाचनबाट नयाँ राष्ट्रपतिको चयन हुने भएको छ । निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षले राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो । आर्थिक संकट चुलिएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि राष्ट्रपति गोटाबाया देश छाडेर भागेका छन् । अहिले अन्तरिम राष्ट्रपति बनेका रनिल विक्रमसिंघे नै राष्ट्रपति बन्ने सम्भावना रहेको समाचारहरुमा उल्लेख छ । उनी राजापाक्ष परिवारसँग निकट मानिन्छन् । संसदमा राष्ट्रपति पदको निर्वाचन अघि उनले श्रीलंकाभर आपतकाल घोषणा गरेका थिए ।
यसअघि राष्ट्रपति पदका दाबेदार विपक्षी नेता सजिथ प्रेमादासाले मंगलबार राष्ट्रपतिको दौडमा आफू नरहेको बताएका थिए । उनले नयाँ राष्ट्रपति पदको निर्वाचन अघि भारतसँग सहयोगको अपिल गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘चाहे जोसुकै राष्ट्रपति बनोस्, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतका सबै राजनीतिक दल र भारतीय जनतासँग मेरो आग्रह छ, कि श्रीलंका र श्रीलंकाका जनताको समस्यालाई पार लगाउन सहयोग जारी रहोस् ।’भारतीय विदेशमन्त्री एस जयशंकरले मंगलबारमात्र भारतले श्रीलंकालाई ३।८ अर्ब डलर सहयोग दिएको जानकारी गराएका थिए ।