रुस-युक्रेन युद्धकै बीच पुटिनको इरान भ्रमण किन महत्वपूर्ण छ ?

REUTERS\BBC

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन मङ्गलवार इरानको औपचारिक भ्रमणमा निस्किएका छन् । रुसले गत फेब्रुअरीमा युक्रेनमाथि आक्रमण थालेको हो । त्यसयता दुई मुलुकबीच युद्ध जारी छ । यो युद्धले विश्वभर आर्थिक संकटका बाछिटा देखिन थालेको हो । युक्रेनमो रुसी सेनाले आक्रमण सुरु गरेयता यो उनको दोस्रो विदेश यात्रा हो। पुटिनले इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई र टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनसँग भेट्ने कार्यक्रम रहेको समाचार एजेन्सीहरुले बताएका छन् । तेहरानमा अन्न निर्यात, सिरिया र युक्रेनबारे छलफल हुने बताइएको छ ।

युक्रेनमा युद्ध सुरु गरेयता रुसी नेताले आफ्ना अन्तर्राष्ट्रिय भ्रमण गर्न रुचाएका थिएनन् । पुटिनले युद्ध सुरु भएपछिको आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण गत जुनमा ताजिकिस्तान र तुर्कमेनिस्तानमा गरेका थिए। पूर्व सोभियत सङ्घबाट छुट्टिएका र रुसका साझेदार यी देशमा समेत तानाशाही शासक सत्तामा छन्। मङ्गलवारको भ्रमणले पुटिनलाई इरानसँग सम्बन्ध बलियो बनाउने अवसर दिने बताइएको छ ।

पश्चिमा आर्थिक प्रतिबन्धहरूको निसानामा परेको इरान मस्कोको बाँकी रहेका केही अन्तर्राष्ट्रिय साझेदारमध्ये पर्छ। गत साता अमेरिकी अधिकारीहरूले तेहरानले युक्रेन युद्धका लागि रुसलाई सयौँ ड्रोनहरू उपलब्ध गराउन लागेको आरोप लगाएका थिए। मङ्गलवार रुसी ऊर्जा कम्पनी ग्याजप्रोपले इरानको सरकारी तेल कम्पनीसँग ४० अर्ब अमेरिकी डलर बराबरको एउटा नयाँ सम्झौता गरेको थियो।