बालेनको घोषणा अनुसार उठ्न सकेन फोहोर, आजबाट घरमै राख्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाकामा फोहर व्यवस्थापनको बिहीबारबाट फेरी रोकिएको छ । महानगरपालिकाका निर्वाचित भएपछि निकै प्राथमिकताका साथ काम गरिरहेका बालेनले फोहोर व्यवस्थापनलाई सहज बनाउन भने सकेका छैनन् । महानगरले १ साउनबाट कुहिने र नकुहिने फोहोर छु्टयाएर राख्न आह्वान गरेको थियो । सो फोहोर नै काठमाडौंका अधिकांश स्थानमा उठेको छैन ।

अर्कोतर्फ यसअघि फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्तासम्म फोहोर ढुवानीको काम बन्द गरेको बुधबार सूचनामार्फत जनाएको छ । सहरी विकास मन्त्रालयले फोहरको गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै काठमाडौं महानगरपालिकालाई केही दिन फोहोर ढुवानीका गाडी नचलाइदिन आग्रह गरेको थियो ।

सोही आग्रहअनुसार महानगरपालिकाले पनि आजदेखि फोहोर व्यवस्थापन कार्य रोकेको हो । आजदेखि काठमाडौं उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम रोकिएको हो । बाटो मर्मतकै कारण यसअघि पनि बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म मात्रै उपत्यकाबाट फोहोरको गाडी सन्चालन हुँदै आएका थिए ।

काठमाडौं महानगरपालिकालेसूचना जारी गर्दै फोहोर व्यवस्थापनको काम नहुन्जेलसम्म आ(आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिकस्थलमा नफाली घरभित्रै छुट्टाछुट्टै राख्न अपिल गरेको छ । हरेक दिन काठमाडौं उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

यसमध्ये सबैभन्दा बढी काठमाडौं महानगरपालिकाबाट ५०० मेट्रिकटन फोहर निस्किने गर्दछ । निजी र काठमाडौं महानगरपालिकाको गरी दैनिक कम्तीमा २०० गाडी फोहर लाने गरिएकामा अहिले मुस्किलले ५० गाडीमात्र सिसडोल पुग्ने गरेका छन् ।