काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । यसअघि सोही माग राखी बुधबार एमाले नेता भीम रावलले रोष्ट्रम नै कब्जा गरेका थिए । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा समेत सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरुले एसपीपीको अवस्थाका विषयमा प्रश्न गरेका थिए । ती प्रश्नमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुख सापकोटाले एसपिपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन वस्थाबारे सदनलाई जानकारी गराउन रुलिङ गरे ।
‘माननीय सदस्यहरुले उठाउनुभएको एसपीपीका सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाको सम्बन्धमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्दछु’ उनले प्रतिनिधिसभा बैठकमा भने । मन्त्रिपरिषद् बैठकले एसपीपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भएपनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन ।