कंचनपुरमा विमानस्थल माग

काठमाडौं । कञ्चनपुरमा विमानस्थल निर्माण अगाडी बढाउन सरोकारवालाले माग गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग भेट गरी उनीहरुले यस्तो माग गरेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखक, कञ्चनपुरका कांग्रेस सभापति तथा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटीसहितको टोलीले मन्त्री श्रेष्ठ र नागरिक उड्डयन प्राधिकरणका अधिकारीसँग भेट गरी विमानस्थल निर्माण अघि बढाउन ध्यानाकर्षण गराएको हो ।

नेता लेखकले निर्माणाधीन विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहण लगायतका कानुनी प्रक्रिया पूरा गरी निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गरे । भेटका क्रममा मन्त्री श्रेष्ठले जग्गा अधिग्रहणका लागि तत्काल प्रक्रिया अगाडि बढाएर विमानस्थल निर्माण अगाडि बढाउने प्रतिवद्धता जाहेर गरेको भेटमा सहभागी नेता लेखकका स्वकीय सचिव जनक भट्टले बताए ।

छलफलका क्रममा मन्त्री श्रेष्ठले मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुलाई तत्काल प्रक्रिया अगाडि बढाउन निर्देशन समेत दिएका थिए । विमानस्थल २०३६ देखि २०५६ सालसम्म सञ्चालनमा थियो । हाल भने विमानस्थल बन्द अवस्थामा रहेको छ । ५२ बिघा जमिनमा रहेको विमानस्थल स्तरोन्नतीका लागि थप ४५ बिघा जमिन नेपाली सेना, वन मन्त्रालय र व्यक्तिगत जग्गा अधिग्रहण गर्ने प्रक्रियामा रहेको छ ।