लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसनको संसद निलम्बन गर्ने निर्णयलाई बेलायती सर्वोच्च अदालतले अवैधानिक घोषित गरेको छ ।
प्रधानमन्त्री जोनसनले पाँच साताका लागि संसद निलम्बन गरेका थिए । उनको निर्णय बेलायती महारानीबाट पनि अनुमोदन भएको थियो ।
प्रधानमन्त्री बोरिसले ९ सेप्टेम्बरदेखि बेलायतको तल्लो सदन हाउस अफ कमन्स पाँच साताका लागि निलम्बन गरेका थिए।
बेलायतलाई यूरोपेली यूनियनबाट हटाउने प्रक्रिया अनुसार उनले संसद निलम्बन गरेका हुन् ।
संसदबाट अवरोध हुने निष्कर्ष निकाल्दै उनले संसद निलम्बन गरेका थिए । जोनसन युरोपियन युनियनबाट बेलायतलाई ३१ अक्टोबर सम्म बाहिर निकाल्ने योजनामा छन् ।
बेलायती संसदमा धेरै सांसद यस निर्णयको विपक्षमा रहेपछि उनले संसद नै विघटन गर्ने निर्णय लिएका हुन् ।
त्यसो त बेलायतमा अधिवेशन सुरू हुनुअघि केही समय संसद निलम्बन गर्न सक्ने कानुनी प्रावधान भने रहेको छ ।
जोनसनले संसद विघटन गरेपछि उच्च अदालतमा मुद्दा परेको थियो ।
बेलायती सर्वोच्च अदालतकी अध्यक्ष लेडी हेइलका अनुसार ११ जना न्यायाधीशले सर्वसम्मत रूपमा उक्त निर्णयलाई खारेज गरिदिएको जानकारी गराएकी छिन् ।
एजेन्सी