तलव बढाउन माग गर्दै कर्मचारी हड्तालमा, लुफ्थान्साका एक हजार उडान रद्द

Lufthansa air

बर्लिन । तलव बढाउन माग गर्दै विमानस्थलमा काम गर्ने कर्मचारीले हडतालको घोषणा गरेपछि लुफ्थान्सा एयरका १ हजार भन्दा बढी उडान रद्द भएका छन् । बुधबार फ्रान्कफर्ट र म्युनिखबाट हुने सबै उडान रद्द भएको कम्पनीले जनाएको छ । समाचार संस्था एपीका अनुसार ‘ग्राउन्ड स्टाफ’ले गरेको हडतालका कारण डेढ लाखभन्दा बढी यात्रुको उडान रद्द भएको छ । एयरलाइन्सले फ्रान्कफर्टबाट छ सय ७८ र म्युनिखबाट तीनसय ४५ उडान रद्द गरेको जनाएको छ । मंगलबार समेत फ्रान्कफर्टबाट ३२ र म्युनिखबाट १५ उडान रद्द भएको छ ।

लुफ्थान्साले फ्रान्कफर्ट उडान रद्द गर्दा ९२ हजार र म्युनिखको अवरोधले उडान नहुँदा ४२ हजार यात्री प्रभावित हुने बताएको छ । एयरलाइन्सले प्रभावितहरूलाई सम्पर्क गर्ने र सम्भव भएसम्म वैकल्पिक उडानको व्यवस्था गर्ने जनाएको छ । यद्यपि उसले वैकल्पिक उडानमा सबैलाई समेट्न सकिने सुनिश्चितता गरेको छैन । उपलब्ध सीटमा यात्रीलाई उनीहरूलाई गन्तव्यसम्म पु¥याउन प्रयास गरिने बताइएको छ । विमान कम्पनीले हडतालका कारण बिहीबार र शुक्रबार उडान रद्द वा ढिलाइ पनि हुनसक्ने जनाएको छ ।

करिब २० हजार कर्मचारीले तलब वृद्धिको माग गर्दै सोमबार एकदिवसीय हडतालको घोषणा गरेका थिए । युरोपभरका विमास्थलमा कर्मचारी अभाव र यात्रीको चाप बढिरहेका बेला लुफ्तान्साका कर्मचारीको हडतालले जटिलता थपेको छ । यात्रीको बढ्दो चापले गर्दा सुरक्षा जाँचमा अवरोध भएको छ भने यात्रीका लामा लाइनले विमानस्थल साघुँरो भएको छ । मुद्रास्फीति बढ्दै जाँदा फ्रान्स, स्वीडेन, नर्वे र डेनमार्कमा स्क्यान्डिनेभियन एयरलाइन्सका पाइलटले उच्च तलबको माग गर्दै हडताल गर्दा अन्तिम समयमा उडान रद्द गर्नुपरेको छ ।