जनार्दन शर्माविरुद्ध भेटिएन बजेटमा अनाधिकृत मान्छे छिराएको प्रमाण ?

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । यो प्रतिवेदन शुक्रबार सभामुख अग्नी प्रसाद सापकोटा समक्ष प्रस्तुत गरिने भएको छ । समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ उल्लेख छ । यसमा सत्तापक्षमा रहेका सांसद एकमत भएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले फरक राय दिएका छन् ।

समिति सदस्यहरुका अनुसार एमालेका सांसदहरुले नै आ–आफ्ना तरिकाले फरक मत राखेका हुन् । सबैका फरक मतलाई राखेर तयार प्रतिवेदन शुक्रबार सभामुख अग्नि सापकोटालाई बुझाइनेछ । चालु आवको बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको आरोप लगाउँदै एमालेले चर्को विरोध गरेपछि संसदीय समिति गठन भएको हो ।