दोस्रो कार्यकालका लागि अर्थमन्त्री शर्माले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन् । आइतबार अर्थमन्त्रीमा नियुक्त भएका शर्माले साँझ राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएलगत्तै मन्त्रालयमा पुगेका हुन् । उनलानई मन्त्रालयमा राजस्व सचिव कृष्णहरी पुष्करसहितका कर्मचारीले भब्य स्वागत गरे । मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री शर्माले उच्च नेतृत्वलाई आफुलाई यो अवसर दिएको भन्दै धन्यवाद ज्ञापन गरे ।

अनधिकृत व्यक्तिले बजेटमा करका दर हेरफेर गरेको भन्दै छानबिनका लागि संसदीय विशेष समिति बनेपछि शर्माले २२ असारमा राजीनामा दिएका थिए । समितिले अनधिकृत व्यक्ति अर्थ मन्त्रालय प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएपछि माओवादीले शर्मालाई फेरि अर्थमन्त्रीमा सिफारिस गरेको थियो ।

आफूहरुले बनाएको बजेट कार्यान्वयन गर्ने अवसर दिएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको नाम नै लिएर धन्यवाद दिए । उनले कर्मचारीहरुसँग पनि विगतमा झैं सुमधुर सम्बन्ध र सहकार्य गरेर मन्त्रालयको जिम्मेवारी पूरा गर्ने बताए ।

अर्थमन्त्री शर्माले अघि बजेट कार्यान्वयनका सन्दर्भमा समीक्षा गरेर कहाँ कमजोरी भए, कसरी हटाउन सकिन्छ भनेर उचित समीक्षासहित प्रभावकारी कार्यान्वयन गर्न लागिपर्ने समेत बताए ।