काभ्रेस्थली हत्याकाण्ड : श्रीमतीमाथि आशंका र रिसको अकल्पनीय परिणाम

काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव भेटिएपछि सोमबार देशभर हावासरी खबर फैलियो । अनेक कोणबाट घटनाबारे चर्चा परिचर्चा भए । किनकी यस घटनामा दुई अवोध बालबालिकको समेत विभत्स तरिकाले हत्या भएको थियो । घरमा भित्रबाट चुलुक लगाएका कोठामा मृत शवहरु हेर्दा घटनाबारे अनेक आशंका गरिएका थिए ।

अन्ततः प्रहरीले यो घटनामा श्रीमानले आफ्ना दुई सन्तान र श्रीमतीको हत्या गरेपछि आफुले आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा पुगेको छ । तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालस्थित घरमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिक मृत भेटिएका थिए । सैनिक स्कुलमा कक्षा ५ मा अध्ययनरत आशिका सोमबार बिहान स्कुल जान बस चढ्न नआएपछि छिमेकीले सोधीखोजी थालेका हुन् ।

घटनाको अनुसन्धान गरिरहेको प्रहरीले दिनेशले श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेको हो । घटनास्थलमा चार पेज लामो ‘सुसाइड नोट’ भेटिएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–६ अश्राङको यो परिवार केही वर्षदेखि यहाँ घर बनाएर बस्दै आएको थियो । आफन्तहरुका अनुसार दिनेश करिब १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि फर्किएका थिए । पदमसालमा जग्गा किनेर एकतले घर समेत बनाएका थिए । सुनिता र उनको सम्बन्ध राम्रो थिएन ।

श्रीमतीको अन्य पुरुषसँग सम्बन्ध रहेको भन्दै दिनेशले शंका गर्थे र यही विषयमा उनीहरुबीच झगडा हुने गरेको थियो । बारम्बार झगडा भएपछि सुनिताले प्रहरीमा उजुरी दिइन् । प्रहरीको बालाजु वृत्तले तीन पटकसम्म दुवैलाई बोलाएर छलफल गराएको थियो, तैपनि उनीहरुबीच पारिवारिक मेल हुन सकेन । पछिल्लो पटक दिनेशले घर बेच्ने भनेर १० लाख रुपैयाँ बैना समेत लिएका थिए । तर सुनिताले बेच्न मानिनन् । उनको नाममा घर भएकाले दिनेशको केही लागेन ।

सुनिताले घर किन्न बैना गर्ने व्यक्तिलाई एक लाख जरिवानासहित ११ लाख रुपैयाँ फिर्ता गरिदिइन् । दिनेशले सुनितासँग सम्बन्धविच्छेद (डिभोर्स) गर्न चाहेका थिए । तर सुनिताले छोराछोरीको भविष्यमा असर गर्ने भन्दै अस्वीकार गरिन् । बरु उनले वैदेशिक रोजगारीका लागि जाने प्रयास थालिन् । त्यसक्रममा बेलायतको सिजनल भिसा लागेपछि उनले पदमसालकै फेन्सी पसल बेच्नुका साथै मेगा ड्रिम सहकारीमा रहेको पैसा निकालेर खाता नै बन्द गरेकी थिइन् ।

तर बेलायत उड्नुअघि नै उनको हत्या भयो । घटनास्थलमा पुगेको फरेन्सिक टोलीले घटना आइतबार राति भएको बताएको छ । विवाद हुँदा दिनेशले श्रीमती र छोराछोरीको चक्कु हानेर हत्या गरेको हुनसक्ने देखिएको प्रहरीले बताएको छ । हत्यापछि दिनेशले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेको देखिएको छ । पछि उनले आफुले आफैलाई चक्कु हानेको देखिएको अनुसन्धानमा खटिएका प्रहरीको भनाई छ । पछिल्लो समय श्रीमती बेलायत जाने विषयमा श्रीमान अझ बढी असन्तुष्ट रहेको अनुमान गरिएको छ ।