काठमाडौं । दाल भनेर प्रतिबन्धित विदेशी महँगा चुरोट आयात गर्ने फर्मलाई वीरगञ्ज सुख्खा भन्सार कार्यालयले झण्डै पौने ११ करोड रुपैयाँ जरिवाना गरेको छ । काठमाडौंको टोखामा रहेको कालिका इन्टरप्राइजेज नामक व्यापारिक फर्मलाई गलत भन्सार घोषणा गरेर राजश्व छली गरेको आरोपमा १० करोड ७२ लाख रुपैयाँ जरिवाना गरेको हो । जरिवाना तिर्न सम्पर्कमा नआएपछि र्फमका सञ्चालक नवराज गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सन्तोषकुमार न्यौपानेले जानकारी दिए ।
दुबईबाट मुङको दाल बोकेर वीरगञ्जको सुक्खा बन्दरगाह आइपुगेको कन्टेनरमा ५८ लाख ३८ हजार खिली विदेशी चुरोट बरामद भएको हो । भन्सार प्रज्ञापनपत्रमा मुङको दाल घोषणा भए पनि कन्टेनरको अगाडिपट्टि मुङको दाल र पछाडि ४ सय कार्टुनमा चुरोट भेटिएको हो । आयातकर्ताले २६ हजार ६१० केजी मुङको दाल आयात गरेको भनेपनि पछि हेर्दा कन्टेनरमा १४ हजार ८२५ किलो मात्रै दाल भेटिएको भन्सारले जनाएको छ । आयातकर्ताले नेपालका ठूला होटल र रेष्टुराँमा बिक्रीका लागि मोन्ट भेरियन्स नामक उक्त चुरोट ल्याएको बुझिएको भन्सारको भनाइ छ ।