न्यूयोर्क । संयुक्त राष्ट्रसंघको सहासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग संक्षिप्त भेटवार्ता गरेका छन् ।
बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले विदेशी पाहुनाका लागि दिएको स्वागत भेटमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा नेपालको पछिल्लो अवस्थाबारे राष्ट्रपतिले चासो राखेको मन्त्री ज्ञवालीले जानकारी दिए ।
राष्ट्रपतिले महासभामा पुगेका सबै देशका प्रतिनिधि प्रमुखसँग भेट गर्ने प्रचलन रहेको छ । यस पटकको महासभामा नेपालको तर्फबाट परराष्ट्र मन्त्रीले नेपालको प्रतिनिधित्व गरिरहेका छन् ।
बिहीबार भूपरिवेष्टित विकासोन्मुख देशको अठारौँ मन्त्रिस्तरीय बैठकलाई समेत न्यूयोर्कमा सम्बोधन गरेका छन् ।
उक्त अवसरमा मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय पद्धति भूपरिवेष्टित देशको सहयोगका लागि महत्वपूर्ण संस्थागत संयन्त्र हुने उल्लेख गरे ।
विकटता, भूमिबद्धता, भौगोलिक एकाकीपनबाट भूपरिवेष्टित देशहरूले धेरै चुनौती झेल्नुपरेको उनको भनाई छ । मन्त्री ज्ञवालीले विश्व व्यापार सञ्जालमा समाहित हुन समेत यस्ता देशहरुलाई कठिन भइरहेको बताए ।