काठमाडौं । जनता समाजवादी पार्टी छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमा अझै परीक्षण बाँकी रहेको बताएका छन् । आफूहरुले दुई÷तीनवटा प्रयोग गरेको, तर यसले मात्र परिणाम दिन नसकेको भन्दै उनले थप परीक्षण बाँकी रहेको बताएका हुन् । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै उनले नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशको राजनीतिमा धेरै परीक्षणहरु गर्नुपर्ने बताए । ‘विज्ञानको आविष्कार थुप्रै प्रयोगबटा गुज्रेर मात्र पुष्टि हुने भन्दै उनले दुई÷तीनवटा प्रयोगबाट खोजेको जस्तो परिणाम नदिएको बताए ।
‘नेपाली समाजको जटिलता, जटिल भू राजनीति छ, अन्तर्राष्ट्रिय परिवेश छ । त्यसमा हामीले अरु धेरै परीक्षणबाट गुज्रिनुपर्छ । यही अनुभूति गरेर हामीले यही पार्टीलाई पुनर्गठन र पुनर्संरचना गर्दै नेपाल समाजवादी पार्टी गठन गरेका छौं,’ उनले भने । भट्टराईले आफूहरुले फेरि अप्ठेरो बाटो हिँड्ने हिम्मत गरेको बताएका छन् । ‘हामीले एउटा नयाँ इतिहास सुरुवात गर्ने हिम्मत र आँट गरेका छौं । नयाँ काम जहिले पनि अप्ठेरो हुन्छ । तर अप्ठेरासँग जुधेर मात्र ऐतिहासिक काम, रुपान्तरणकारी काम गर्न सकिन्छ’ उनले भने ।