काठमाडौं । चीनले आफूमाथि आक्रमण गर्न अभ्यास गरेको ताइवानले बताएपछि संयुक्त राज्य अमेरिकाले बेइजिङले उत्तेजना फैलाउन खोजेको र अनुत्तरदायी काम गरेको भन्दै उसको चर्को आलोचना गरेको छ। बीबीसीका अनुसार ताइवानले चिनियाँ सैन्य अभ्यासको यथोचित प्रतिक्रिया दिइएको जनाएको छ। बेइजिङले त्यस्तो अभ्यास थालेको आइतवार चौथो दिन पुगेको छ । ह्वाइट हाउसका अनुसार चीनले ताइवानबारे विद्यमान यथास्थिति फेर्न प्रयास गरिरहेको छ।
अमेरिकी सभामुख न्यान्सी पलोसीको नेतृत्वमा एउटा अमेरिकी प्रतिनिधिमण्डलले गत साता ताइवानको भ्रमण गरेपछि अमेरिका र चीनबीच तनाव चुलिएको छ। चीनले उक्त भ्रमणलाई ताइवानमाथिको आफ्नो स्वामित्व रहेको दाबीलाई चुनौती दिइएको ठानेको छ। यद्यपि ताइवान आफूलाई छुट्टै राज्य मान्छ। चिनियाँ जहाज र विमानहरूले सप्ताहान्तमा ताइवान स्ट्रेटमा विभिन्न गतिविधि गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ। उसका अनुसार तीमध्ये केहीले चीन र ताइवानबीच विद्यमान अनौपचारिक मध्यवर्ती रेखा नाघेका थिए। तिनलाई चेतावनी दिन ताइवानले पनि आफ्ना लडाकु विमानहरू उडाएको थियो।
आइतवार बिहान विमान र पानीजहाज परिचालन गरेर वास्तविक शस्त्रास्त्र गरिएका अभ्यासहरूको यथोचित प्रतिक्रिया दिइएको ताइवानको सेनाले भनेको विवरण रोएटर्स समाचारसंस्थाले प्रकाशित गरेको छ। ताइपेईमा संवाददाताहरूसँग बोल्दै ताइवानी प्रधानमन्त्री सू जन चाङले चीनले क्षेत्रीय स्थिरता भङ्ग गर्न हठपूर्वक सैन्य अभ्यास गरेको आरोप लगाएका छन्। यद्यपि उनले चिनियाँ पक्षलाई संयमित हुन आग्रह गरेका छन्।
बेइजिङले आफ्नो सैन्य अभ्यासबारे टिप्पणी गरिसकेको छैन। यद्यपि आइतवारसम्म ताइवाननजिकै आकाश र समुद्रमा सैन्य अभ्यास जारी रहने अनुमान गरिएको छ। अनावश्यक सैन्य गतिविधि गरेर चीनले तनाव बढाएको आरोप वाशिङ्टन डीसीले लगाएको छ। चीनले पलोसीको ताइवान भ्रमणका कारण ताइवान स्ट्रेटको शान्ति र स्थिरतामा गम्भीर असर पुगेको बताएको छ।