काठमाडौं–केरुङ रेलमार्ग बन्ने सम्भावना बढेको हो ?

File

काठमाडौं । चिनियाँ भ्रमणमा रहेका परराष्ट्र मन्त्री नारायण खड्कासँगको औपचारिक भेटमा चीनका विदेश मन्त्री वाङ यीले दिएको आश्वासनपछि काठमाडौं–केरुङ रेलमार्ग बन्ने सम्भावना बढेको छ । चीनले केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्न अनुदान सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । यो आयोजना अहिले पनि अन्यौलमा छ । चीनले आश्वासन मात्र दिएको आशंकाका बीच पुनः यो आयोजनाले गति लिने अपेक्षा गरिएको छ । भेटमा चीनले नेपाललाई भौतिक पूर्वाधार, विपद् व्यवस्थापन र स्वास्थ्य सामग्री लगायतका विभिन्न शीर्षकमा चीनले १५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने घोषणा समेत गरेको छ ।

यसअघि काठमाडौं–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न नेपाल र चीनबीच सहमति भएको थियो । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यसमा दुई देशका उच्च अधिकारी सहमत थिए । तर त्यसपछि अध्ययनका लागि चिनियाँ प्राविधिक टोली आएको छैन ।

काठमाडौं–केरुङ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भने २०७५ मंसिरमै भएको थियो । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । उक्त समयमा रेलमार्गको काम चाँडै सुरु गर्नेबारे दुवै देशका उच्च अधिकारी तयार भएका थिए । रसुवागढीदेखि काठमाडौंसम्म ७२ किमि दूरी रहन्छ । रेलमार्गमा ९८ प्रतिशत पहाड पर्छ, जसलाई छेडेर रेलमार्ग बनाउनु पर्नेछ ।