पेट्रोलियम ढुवानी व्यवसायीले फेरि गरे आन्दोलनको घोषणा

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । यसअघि भएका सहमति नेपाल आयल निगमले पालना नगरेको भन्दै व्यवसायीले फेरि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

ढुवानी भाडा बढाउन पटक पटक सहमति गरे पनि त्यसलाई कार्यन्वयन निगमले आलटाल गरेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जनाएको छ ।

‘आगामी भदौ भदौ १ गतेसम्म ढुवानी भाडा वृद्धि नगरिए २ गतेदेखि अग्रिम ढुवानी अनुमति नलिने र अन्य आन्दोलनका कार्यक्रम गर्ने छौं’ महासंघको विज्ञप्तिमा उल्लेख छ ।

गत १५ साउनमा निगमले लिखित पत्र पठाएर भाडा वृद्धि गर्ने जानकारी गराए पनि सो पालना नभएको महासंघको दाबी छ । महासंघले हालको ढुवानी भाडामा ट्रक र ट्यांकर चलाउन नसकिने भन्दै सम्पूर्ण खर्च गर्नेगरी निगम आफैंलाई ट्यांकर चलाउन पनि आग्रह गरिएको छ ।

बढेको इन्धनको भाउअनुसार ढुवानी भाडा नबढेको भन्दै ट्रक ट्यांकर व्यवसायीहरु गत वर्ष देखि नै आन्दोलित छन् ।