काठमाडौं । विवादित क्षवि बनाएपनि पशिक्षणमा हेविवेट व्यक्तित्व मानिने नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौं आईपुगेका छन्। मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ काठमाडौँ अवतरण गरे । उनलाई क्रिकेट संघ नेपालका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । सो अवसरमा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली क्रिकेट र खेलाडीका बारे आफू जानकार रहेको बताए । टीममा छिट्टै परिवर्तन देखिने उनको भनाई छ ।
मुख्य प्रशिक्षक प्रभाकरले आफ्नो क्रिकेटको अनुभवले नेपाली क्रिकेट खेलाडीलाई अरूभन्दा फरक तरिकाले प्रशिक्षण दिन सक्ने समेत बताए । मुख्य प्रशिक्षक पुबुदु दासानायकेको अकस्मात आएको राजीनामा पछि क्यानले प्रभाकरलाई नियुक्त गरेको हो। मुख्य प्रशिक्षक प्रभाकरको करार एक वर्षको हो । भारतका पूर्व अलराउण्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन्। मुख्य प्रशिक्षकका रुपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्ध हुने भएको छ।
नेपाली क्रिकेट पछिल्लो समय एकता नभएको आरोपसँगै विवादमा छ । पछिल्लो पटक नेपालले स्कटल्याण्ड भ्रमण गर्दा नेपाली राष्ट्रिय टिमले अपेक्षा अनुसारको नतिजा निकाल्न सकेन। चार खेलमध्ये एक खेलमा जित नतिजा निकालेको नेपालले बाँकी तीन खेल गुमाएको थियो । जसबाट माथि उठेर टीममा एकता ल्याउनु प्रशिक्षकको पहिलो दायित्व हुने छ । नेपालको समस्या ब्याटिङमा देखिएको छ ।