काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विदेशमा रहेका नेपालीलाई निर्वाचनमा भाट हाल्ने गरी स्वदेश फर्कन आह्वान गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशमा रहेका नेपालीहरूलाई चुनावका बेला नेपाल आउन आग्रह गरेका हुन् । नेपालमा मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन हुँदैछ। लिङ्देन झापा ३ बाट उम्मेदवार हुने तयारीमा छन् । लिङ्देनले पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा शनिबार भएको कार्यक्रममा विदेशमा रहेकालाई नेपाल आउन आग्रह गरेका हुन्।
‘समसामयिक राजनीति, प्रवासको संगठन विस्तार र आसन्न निर्वाचनमा प्रवासको भूमिका’ विषयक भर्चुअल अन्तर्क्रियामा बोल्दै अध्यक्ष लिङ्देनले पार्टीका पक्षमा जनमत बढाउन आग्रह गरे । ‘प्रवासमा रहेका साथीहरूले पार्टीका पक्षमा जनमत बनाउन, सामाजिक सञ्जालको भरपूर सदुपयोग गर्न, आक्रामक ढंगबाट संगठन विस्तार गर्न, निर्वाचनको बेला संगठित रुपमै स्वदेश आउने तालिका बनाउन र प्रभावकारी रुपले चुनावी अभियानमा होमिनुपर्छ,’ प्रवास विभागका प्रमुख आनन्द अधिकारीको अध्यक्षतामा भएको अन्तर्क्रियामा लिङ्देनले भने। विभिन्न २७ देशमा रहेका पार्टी आवद्ध प्रतिनिधिहरुसँग लिङ्देनले अन्तर्क्रिया गरेका थिए ।