काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई साउन ३१ गते (अगस्ट १६ तारिख) पेट्रोलियम पदार्थको भाउ घटाएर नयाँ मूल्यसूची पठाएको हो ।
नयाँ मूल्यसूची अनुसार डिजेल, पेट्रोल र हवाई इन्धनको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।
निगमका अनुसार पेट्रोल प्रतिलिटर १.९४ रुपैयाँ, डिजेल प्रतिलिटर ४.८४ रुपैयाँ घटेर आएको छ । यस्तै, हवाई इन्धन पनि प्रतिलिटर ५ रुपैयाँ सस्तिएर आएको निगमले जनाएको छ । अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ ।
आइओसीले पेट्रोलियम पद्धार्थको भाउ घटाएर पठाको यो लगातार तेस्रो पटक हो । यसअघि साउन १६ गते डिजल प्रतिलिटर १२.४५ रुपैयाँ र पेट्रोल प्रतिलिटर १६.८० रुपैयाँ घटेर आएको थियो । त्यसअघि साउन १ गते पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेल १६.५६ रुपैयाँ घटेर आएको थियो ।
आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।