बिहीबार २८४ गाडी फोहोर बन्चरे डाँडामा बिसर्जन

काठमाडौं । बन्चरे डाँडामा स्थानीयको अवरोध बिहीबार समेत कायम रह्यो । यसका वावजुत बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीहरुलाई केहीबेर स्थानीयले अवरोध गरेका थिए । स्थानीयवासीको अवरोध हटाउन बिहीबार समेत ठूलो संख्यामा प्रहरी खटाइएको थियो ।

पक्राउ परेका स्थानीयलाई रिहा गर्नुपर्ने माग राखेर बिहीबार बिहान केही समय स्थानीयले फोहोर फाल्न अवरोध खडा गरेका थिए । बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा ४ बुँदे सहमति भएको थियो ।