फ्लोरिडा । अमेरिकाले चन्द्रमामा मानवसहितको रकेट पठाउने तीव्र तयारी गरिरहेको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमामा पठाउन निर्माण गरिएको रकेट प्रक्षेपणको तयारी थालेको बीबीसीले लेखेको छ । स्पेस लन्च सिस्टम (एसएलएस) नामक उक्त रकेटलाई फ्लोरिडास्थित केनडी स्पेस सेन्टरमा रहेको प्याड ३९बीमा लगिएको छ। त्यहाँबाट उक्त रकेट अगस्ट २९ मा पहिलो पटक उड्नेछ। त्यो परीक्षण उडानमा चालकदलका कोही पनि सदस्य हुनेछैनन्।
तर पछि एसएलएस रकेट प्रयोग गरेर अमेरिकाले ५० वर्षपछि चन्द्रमामा पहिलो पटक अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ। झन्डै १०० सय मिटर अग्लो एसएलसीलाई विशाल ट्र्याक्टरमा चढाएर प्याडसम्म लगिएको थियो। जडान गरिएको भवनबाट एसएलसी रकेट स्थानीय समयानुसार मङ्गलवार राति झन्डै १० बजे हिँडेको थियो। त्यहाँबाट ६.७ किलोमिटर पर रहेको प्रक्षेपणस्थलसम्म पुग्दा बुधवार सूर्योदय भइसकेको थियो।
आगामी डिसेम्बरमा अमेरिकाले अन्तिम पटक चन्द्रमामा सफलतापूर्वक मानव अवतरण गराएको अपोलो १७ अभियानको ५० औँ वार्षिकोत्सव मनाउन लागेको छ। नासाले नयाँ आर्टमिस कार्यक्रमसहित अन्तरिक्ष अभियानमा पुनः सहभागी हुने र आधुनिक युगलाई लाभ दिने प्रविधिको प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
आर्टमिस ग्रीक देवता अपोलोकी जुम्ल्याहा बहिनीको नाम हो र उनलाई चन्द्रमाकी देवी पनि मानिन्छ।
नासाले आफ्नो चन्द्र अभियानलाई सन् २०३० वा त्यसको केही समयपछि मङ्गल ग्रहमा अन्तरिक्षयात्रीहरू पठाउने आफ्नो तयारीसँग जोडेर हेरेको छ। अराइअनलाई युरोपियन सर्भिस मोड्यूलले अन्तरिक्षमा पठाउनेछ ।
अपोलोको स्याटर्न भी रकेटको तुलनामा एसएलएसको प्याडबाट उड्ने बल १५ प्रतिशत बढी हुन्छ। त्यो अतिरिक्त बलले पृथ्वीभन्दा धेरै टाढासम्म अन्तरिक्षयात्रीहरूलाई पठाउन यानलाई सहयोग गर्नुका साथै थप समयसम्म अभियान सञ्चालन गर्न आवश्यक उपकरण र सरसामान लैजान पनि सघाउँछ।
क्रू क्याप्स्यूल अर्थात् अन्तरिक्षयात्री बस्ने खण्डको पनि क्षमता बढाइएको छ।
अराइअन भनिने उक्त क्याप्स्यूल अझ फराकिलो छ। सन् १९६० र ७० का ऐतिहासिक कम्यान्ड मोड्यूलको तुलनामा एक मिटर बढी फराकिलो रहेको अराइअनको चौडाइ पाँच मिटर छ।