अदालतलाई धम्क्याएको आरोपमा पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पाकिस्तानमा अनुसन्धान शुरु

कराँची । पाकिस्तानी प्रहरीले पूर्वप्रधानमन्त्री इमरान खानमाथि अनुसन्धान थालेको बताएको छ । शनिवार एक राजनीतिक मन्तव्य दिएपछि उनी विरुद्ध प्रहरी र न्यायपालिकालाई धम्काएको आरोप लागेको छ। यी पूर्व शीर्ष नेताका समर्थक उनको घर बाहिर जम्मा भएका छन् र उनी गिरफ्तारीमा परेमा आफूहरूले परिस्थिति नियन्त्रणमा लिने बताएपछि देशमा तनाव चुलिएको बीबीसीले लेखेको छ । गत अप्रिलमा सत्ताच्युत भएदेखि खान सरकार र देशको सेनाको कडा आलोचक बनेका छन्।

क्रिकेट खेलाडीबाट राजनीतिज्ञ बनेका खानले आफू निकट सहयोगीलाई यातना दिएको आरोप लागेपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको हो। यद्यपि, ती सहयोगी स्वयं देशद्रोहको आरोपमा हाल हिरासतमा छन्। शनिवार दिएको सार्वजनिक मन्तव्यमा खानले आफ्नो पार्टी सहकर्मीलाई हिरासतमा राखेको र दुर्व्यवहार गरेकोबारे इस्लामावादका प्रहरी प्रमुख र एक महिला न्यायाधीशको आरोपको खण्डन गरे।

‘तिमीहरू पनि तयार रहनु। हामी तिमीहरू विरुद्ध पनि कारबाही गर्छौँ,’ उनले भाषणको क्रममा उनीहरू दुवैलाई चेतावनी दिएका थिए । प्रहरी अनुसन्धानकर्ताहरूका अनुसार खानले राज्यका अधिकारीहरू विरुद्ध धम्की दिएको आरोपलाई आधार मान्ने हो भने उनले देशको आतङ्कवाद विरोधी कानुन उल्लङ्घन भएको हुन सक्छ।


प्रहरीले उनी विरुद्ध अनुसन्धान सुरु गरेको खबर सार्वजनिक भएपछि पूर्व प्रधानमन्त्री खानका सयौँ समर्थकहरू इस्लामावादस्थित उनको निवासबाहिर भेला भए र यदि उनलाई पक्राउ गर्ने कोसिस भएमा राजधानी नियन्त्रणमा लिने बताए। त्यहाँ उपस्थित प्रहरीले भने आफूहरू खानलाई पक्राउ गर्न नभइ शान्ति तथा सुरक्षा व्यवस्थापनका लागि त्यहाँ खटिएको बताए।