रुससँगको युद्धमा आफ्ना ९ हजार सैनिक मारिएको युक्रेनको पुष्टी

काठमाडौं\एजेन्सी । रूससँगको युद्धमा आफ्ना ९ हजार सैनिक मारिएको युक्रेनले पुष्टी गरेको छ । ७ महिनादेखि जारी युद्धमा ती सैनिकको ज्यान गएको युक्रेनले एक विवरण सार्वजनिक गर्दै जनाएको छ । युक्रेनका कमाण्डर इन चीफ जनरल भ्यालेरी जालुज्नीले युद्धका कारण बालबालिकाको हेरचाहमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको बताए । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले युक्रेनका सेनालाई सैन्य प्रशिक्षण दिने विचार गरिरहेको बताएका समाचार संस्था एएफपीले जनाएको छ ।

युक्रेनले भोलि आफ्नो ३१औँ स्वतन्त्रता दिवस समेत मनाउँदैछ । दिवसका अवसरमा ठूला आक्रमणका घटना हुनसक्ने आशङ्कामा पर्सि बिहीवार बिहानसम्म सामूहिक कार्यक्रम गर्न रोक लगाइएको छ । देशको दोस्रो ठूलो सहर खार्किभमा आज बेलुकादेखि कर्फ्युको घोषणा गरिएको बीबीसीले जनाएको छ । रुसी सेनाले राजधानी कीएभ कब्जा गर्ने तयारी गरे पनि असफल भएपछि युक्रेनको पूर्वी भू–भागमा आक्रमणलाई केन्द्रित गरेको छ । रुस–युक्रेन युद्धका कारण ऊर्जा इन्धन र खाद्यान्नको मूल्य आकासिएको छ । युद्धको प्रभाव विश्वभर नै परेको छ।