काठमाडौं । दक्षिण कोरियाली ब्रान्ड सामसङका टेलिभिजन नेपालमै उत्पादन हुनेभएको छ । सामसङ र गोल्छा ग्रुपअन्तर्गतको हिम इलेक्ट्रोनिक्सको सहकार्यमा नेपालमै सामसङ ब्रान्डका टेलिभिजन उत्पादन गर्न थालिएको हो । बुधबार नवलपरासीमा एक कार्यक्रम गर्दै सामसङ कारखाना शिलान्यास भएको छ ।
स्वदेशमै उद्योग स्थापना गरी रोजगारी दिने उद्देश्यले सामसङ ब्रान्डका टेलिभिजन यहीँ बनाउन लागिएको गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले बताएका छन् । उद्योग स्थापनामा सामसङ कम्पनीको प्राविधिक सहायता लिइनेछ ।
लगानी गोल्छा ग्रुपको हुनेछ। यस कम्पनीले सबै आकारका टेलिभिजन उत्पादनको लक्ष्य लिएको छ । टिभी उद्योग एक वर्षपछि सञ्चालन आउने छ। सञ्चालन भएपछि उद्योगमा एक सयभन्दा बढीले रोजगारी पाउनेछन्। दैनिक एक हजार टिभी उत्पादन गर्ने कम्पनीको लक्ष्य छ ।
कार्यक्रममा सामसङ दक्षिण पश्चिम एसियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङले लामो समयदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससँग मिलेर नवलपरासीमा स्थापना गर्न लागेको यो टिभी कारखाना नेपाली जनताप्रतिको निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनप्रति उपभोक्ताले देखाएको बढ्दो विश्वास एवं मायाको प्रतिक भएको बताए ।
सामसङ नेपालमा सन् १९९७ मा भित्रिएको हो। सामसङले हिम इलेक्ट्रोनिक्समार्फत् नेपालमा टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेसिन, ओभन र स्मार्टफोन बिक्री वितरण गर्दै आइरहेको छ।