न्युयोर्क
नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा संयुक्त तीज मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ ।
यही आउॅदो शनिवार अगष्ट २७, २०२२ का दिन साँझ ६-११ बजेसम्म सत्यनारायण मन्दिरमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् एनआरएनए न्युयोर्क च्याप्टरको संयोजनमा संयुक्त तीज विशेष कार्यक्रम मनाउन लागेको हो ।
अमेरिकी नेपालीहरुको छाता संगठन एनआरएनए न्युयोर्क च्याप्टरको महिला कोअर्डिनेटर लक्ष्मी थापाको संयोनजमा हुने कार्यक्रमलाई स्याङ्जा समाज अमेरिका, बागलुङ सेवा समाज अमेरिका, प्रवासी नेपाली एकता मंच न्युयोर्क च्याप्टर र दर्शन ठकुरी समाज अमेरिकाले सहयोग गर्ने भएको छ । न्युयोर्क सहरमा संयुक्त आयोजनामा तीज विशेष कार्यक्रम गर्न लागिएको यो पहिलो पटक भएकोले कार्यक्रम भव्य र थप व्यवस्थित हुने संयोजक थापाले बताएका छन् ।

कार्यक्रममा प्रवेश निशुल्क रहने तथा सबैलाई दर (तीज विशेष खाना) प्रदान गरिने समेत जानकारी गराएका छन् । एकल तथा सामुहिक नृत्यको लागि सबैलाई समान अवसर प्रदान गर्ने भएको छ ।
तीजका दिन नेपाली महिलाले भगवान महादेवको पूजा आराधना तथा निराहार व्रत बसी यो पर्व मनाउने प्रचलन रहेको छ । यस दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गर्दा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । अघिल्लो दिन राति दर खाएर महिलाहरुले आज निराहार व्रत राख्छन् । तीजको दिन शिव पार्वतीको पूजा आरधनासँगै नाचगान समेत हुने गर्छ । यसैको निरन्तरता दिन प्रवासमा समेत यस्ता कार्यक्रमहरु आयोजना हुने गरेका छन् ।

सत्ययुगमा आजको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएको विश्वास गरिएसँगै अटल सौभाग्यको कामनाका लागि, सन्तान प्राप्तिका लागि, अविवाहित केटी एवं केटाहरुले असल वर र बधु प्राप्तिका लागि पनि तीजको व्रत बस्ने शास्त्रीय विधान रहेको बताइन्छ ।

दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
आयोजक संस्थाहरुले विभिन्न सामाजिक संजाल तथा व्यक्तिगत तवरमा सबैलाई उपस्थितिको लागि आह्वान गरेका छन् ।