महङ्गो ब्राण्डका नक्कली रक्सी उत्पादन गर्ने कारखानामा प्रहरीको छापा, ५ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली मदिरा उत्पादन गर्ने कारखानामा छापा हानेको छ । सो क्रममा पाँच जना पक्राउ परेका छन् । नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका–८ का भगवान बस्नेत, दोलखाको कालिन्चोक गाउँपालिकाका २४ वर्षीय हरि वली, सोहीका स्थानका विशाल वली, रामेछापको खाँडादेवीका मनोज खत्री र गोपी श्रेष्ठ छन्।

प्रहरीले उनीहरूलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। विभिन्न ब्राण्डको नाममा नक्कली मदिरा उत्पादन गर्ने गरेको भनी प्रहरीले विशेष सूचना पाएको थियो। उक्त सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले कोटेश्वरमा र दुवाकोटमा रहेको दुई फ्याक्ट्रीमा छापा मारेको थियो। प्रहरी उपरीक्षक मैनालीका अनुसार कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण २ दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो।

वलीको डेरा र फ्याक्ट्रीबाट ब्ल्याक लेबल, रेड लेबल, डबल ब्ल्याक, ज्याक डेनिस, ८८४८ भोड्का, सिग्नेचर, ओल्ड दरबार, गोल्डेन ओक, हाइल्याण्डर भोड्का, ब्लु डाइमेन्डलगायत ब्राण्डका नक्कली रक्सी बरामद गरेको प्रहरीले जानकारी दिएको छ । रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत बरामद गरेको जनाइएको छ।

प्रहरीका अनुसार सुरूमा कोटेश्वरस्थित डेराबाट वलीलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा अन्य व्यक्तिको पनि संलग्नता देखिएपछि उनीहरूलाई पनि पक्राउ गरिएको हो। बरामद भएका रक्सीहरू उनीहरूले विभिन्न नाइट क्लब, लाउन्ज, डिस्को, विभिन्न डिलर, दोहोरी, डान्सबारमा पठाउने गरेका थिए ।