काठमाडौं । भारतको नोयडामा अवैध रूपमा बनाइएका दुई गगनचुम्बी भवन ध्वस्त पारिएको छ।
आइतबार दिउँसो नेपाली समयअनुसार पौने तीन बजे ती दुई भवन भत्काइएको हो।
राजधानी नयाँदिल्लीसँग जोडिएको उत्तर प्रदेशको नोयडामा रहेका दुईमध्ये एउटा भवन एक सय मिटर र अर्को ९७ मिटर अग्ला थिए। उनीहरूको नाम एपेक्स र सियान राखिएको थियो।
टावर भएको स्थान वरिपरि धुवा फैलिएको छ। विष्फोटले आसपासका क्षेत्रमा रहेका भवनमा क्षति भए-नभएको भने एकिन भइसकेको छैन।
नोएडाको सेक्टर ९३ए मा रहेको विवादास्पद ट्विन टावर करिब ३७०० किलो बारूदले ध्वस्त पारेको हो ।
एपेक्स र केएन नामका टावरहरू सुपरटेक बिल्डरले बनाएका हुन्। यी ३० तले भवनहरूलाई ट्विन टावर भनिन्थ्यो। यी टावरको उचाइ ३२० फिट भन्दा बढी छ।
भारत हालसम्म भत्काइएका मध्ये सबैभन्दा ठूलो भवन यही हो। मानिसको सुरक्षालाई ध्यानमा राख्दै यी भवन नजिक रहेका मानिसहरूलाई घर खाली गर्न पनि भनिएको थियो ।
ती भवनलाई अवैध भएर भत्काउन लागिएको हो। टावरहरू इम्प्लोसन टेक्नोलोजीको प्रयोग गरेर भत्काइएको हो। सो टेक्नोलोजीबाट केही सेकेन्डभित्र नै भवन भत्किएको छ।
अगस्ट २०२१ मा भारतको सर्वोच्च अदालतले ट्विन टावरहरू भत्काउन आदेश दिएको थियो। यी टावर भत्काउनको लागि नजिकैका दुई सोसाइटीका करिब पाँच हजार बासिन्दाले घर खाली गरेका छन् ।
भवन भत्काउन र भत्काएपछिको सफाइमा लाग्ने सबै खर्च कम्पनीले व्यहोरेको छ ।