चौथो खेलमा केन्यासँग हार्यो नेपाल

काठमाडौं । केन्याविरुद्ध चौथो टी–२० खेलमा नेपाल पराजित भएको छ । जितमा लागि सामान्य १०२ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रनमा समेटियो । कमजोर ब्याटिङ गरेको नेपालका लागि रोहित पौडेलले ४७ रन जोड्नु बाहेक अन्या ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । नेपाललाई सस्तैमा समेट्न केन्याका रकिप पटेलले तीन विकेट लिए । भिराज पटेल, शेम एन्गोचे र एलिज्ह ओटिनोले दुई दुई विकेट लिए ।

यसअघि नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली केन्याले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १०१ रन बनाएको थियो । केन्याका लागि लुकास ओलुओचले सर्वाधिक ३३ रन बनाए । बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच ५ विकेट लिए ।

नेपालको यस हारसँगै पाँच खेलको सिरिज २–२ को बराबरी भएको छ । अब टी–२० सिरिजको अन्तिम तथा निर्णायक खेल मंगलबार हुनेछ । त्यसपछि दुई टोलीबीच भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज हुनेछ ।