पाँचौं खेल जितेसँगै केन्यासँगको टी-२० अन्तर्राष्ट्रिय सिरिज नेपालको कब्जामा

काठमाडौं । केन्याविरूद्धको निर्णायक तथा पाँचौ टी-२० खेलमा जितेको नेपालले सिरिज ३–२ ले आफ्नो कब्जामा पारेको छ। नेपालले मंगलबार भएको पाँचौ टी-२० मा केन्यालाई ३१ रनले हरायो । यसअघि नेपालले पहिलो टी-२० मा ५ विकेट र तेस्रो टी-२० मा ४ विकेटको जित निकालेको थियो। दोस्रो टी-२० मो केन्या १८ रनले विजयी हुँदा हिजो भएको चौथो टी-२० मा उसले ७ रनको जित निकालेको थियो। मंगलबार नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले ७ विकेटको क्षतिमा १४४ रन मात्र जोड्न सक्यो। केन्याका ओपनर कोलिन ओबुया २३ रन र सुखदिप सिंह ४ रनमा आउट भए। इर्फान करिमले २८ रन जोडे भने राखेप पटेल १ रन र सचिन भुडिया शून्यमा आउट भए।

ओडियाम्बोले सबैभन्दा बढी ३७ रन जोडे। २२ बलमा ४ चौका र १ छक्का हिर्काएका उनलाई बसिर अहमेदले आउट गरे। बसिरले लुकासको पनि विकेट लिने क्रममा ४ रनमा आउट गरे। यस्तै एनगोचे ३३ रनमा नटआउट रहदा नेल्शन ओडियाम्बोले नटआउट १३ रन जोडे। बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले २-२ विकेट लिए। करण केसी, आदिल अन्सारी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे। त्यसअघि केन्याको नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १७५ रन जोड्यो।

नेपालका लागि ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। ओपनिङमा आएका ज्ञानेन्द्रले ५९ रन जोडे। उनले ४४ बलमा ५ चौका र २ छक्का हिर्काए। रोहितकुमार पौडेल अन्तिम ओभरको चौथो बलमा आउट हुनुअघि ४७ रन जोडे। उनले २५ बलमा ७ चौका प्रहार गरे। अर्का ओपनर अर्जुन साउदले २१ बलमा २९ रनको योगदान गरे। दीपेन्द्रसिंह ऐरीले १८ बलमा २२ रन बनाए। अब नेपाल र केन्याले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछन्। नेपालले पहिलो खेल भदौ १७ गते खेल्नेछ भने दोस्रो खेल भदौ १८ गते तथा तेस्रो तथा सिरिजको अन्तिम खेल भदौ २० गते हुनेछ।