काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्ड प्रयोगमा कडाई गरेको छ । वाणिज्य तथा विकास बैंकहरुलाई निर्देशन जारी गर्दै राष्ट्र बैंकले तोकेरै डलर कार्डबाट १८ वटा कोडमा भुक्तानी बन्द गरेको हो । कोड नम्बरका आधारमा राष्ट्र बैंकले डलर कार्ड प्रयोग गर्न नपाइने भनेका भुक्तानीका क्षेत्रमा क्यासिनोदेखि अनलाइन जुवासम्म रहेका छन् । डलर कार्डबाट विदेशमा कसैलाई रकम स्थानान्तरण गर्न नपाइने व्यवस्था आएको छ ।
प्रत्यक्ष बीमा सेवामा भुक्तानी गर्न, स्टाम्प तथा सिक्काको भुक्तानी गर्न, विदेशी वित्तीय संस्थाका सदस्यलाई नगद, व्यापारिक सामान तथा सेवाको भुक्तानी गर्न पनि डलर कार्डको प्रयोग रोकिएको छ । विदेशी धितोपत्र ब्रोकर तथा डिलरलाई भुक्तानी गर्न पनि पाइने छैन । विदेशी बिमाको अन्डरराइटिङ तथा प्रिमियमवापत भुक्तानी गर्न डलर कार्ड प्रयोग गर्न पाइने छैन ।
विदेशका रियल स्टेट एजेन्ट तथा व्यवस्थापकलाई भाडा तिर्न, कोषवापत रकम स्थानान्तरण गर्न, डेटिङ सेवाको भुक्तानी गर्न, क्यासिनो तथा अनलाइन जुवा, घोडा तथा कुकुर दौड खेलको भुक्तानी गर्न, सट्टेबाजी तथा काल्पनिक खेलको भुक्तानी गर्न, राजनीतिक तथा धार्मिक संगठनलाई रकम दिन पनि डलर कार्ड प्रयोग गर्न पाइने छैन । हाल वाणिज्य तथा विकास बैंकहरुले एक व्यक्तिलाई वार्षिक ५ सय डलरसम्म खर्च गर्न पाउनेगरी डलर कार्ड दिन्छन् ।