काठमाडौं । बुधबार साँझ साढे ६ बजे बुद्धनगरस्थिति एक निर्माणाधिन घरको छतबाट हाम फाल्दा एक किशोर र एक किशोरीको ज्यान गएको छ । प्रहरी वृत्त, बानेश्वरका अनुसार बुद्धनगरको बुटवल पावर कम्पनी नजिकै एक निर्माणाधीन घर अगाडि दुई बालबालिकाले ६ तलामाथिबाट फाल फालेका हुन् । घटनास्थलमा प्रहरी पुग्दा दुईजना गम्भीर अवस्थामा थिए । उनीहरुलाई तत्काल सिभिल अस्पताल बानेश्वर लगियो । तर चिकित्सकहरुले मृत घोषित गरे ।
उनीहरु मध्यबानेश्वरस्थित पाठशाला स्कुलमा कक्षा ९ मा पढ्ने विद्यार्थी भएको खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनीहरु १३ र १४ वर्षका किशोरकिशोरी भएको खुलेको छ । दुवै पेप्सिकोलामा बस्दै आएका थिए । बुधबार उनीहरु दुबै जना स्पोर्टस् ड्रेसमा उनीहरु स्कुल आएका थिए । अनुसन्धान अधिकृतहरुका अनुसार हालसम्म उक्त घरमा अन्य व्यक्तिको प्रवेश देखिएको छैन र शंकास्पद विषय अगाडि आएका छैनन् । घटनाको कारण हालसम्म खुलेको छैन । उनीहरुको झोला पनि हालसम्म भेटिएको छैन ।