काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दशैंपछि वैदेशिक भ्रमणमा निस्कने भएकी छिन् । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिको म्यानमार र जापानको भ्रमणको तयारी भइरहेको छ ।
शुरुमा म्यानमार जाने राष्ट्रपति लगत्तै जापान जाने गरी तयारी भइरहेको मन्त्रालय स्रोतको भनाई छ । त्यसो त अक्टोवर मै चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आउँदैछन् ।
उनी नेपाल आइसकेपछि मात्र राष्ट्रपति भण्डारी विदेश जाने गरी कार्यतालिका सार्वजनिक हुने बताइएको छ । सोहीकारण राष्ट्रपति भण्डारीको भ्रमणको मिति तय भइनसकेको हो ।
चिनियाँ राष्ट्रपतिको मिति तय हुनासाथ त्यसपछि बाहिर जाने गरी नेपाली राष्ट्रपतिको वैदेशिक भ्रमण निश्चित गरिने भएको छ ।
म्यानमार हुँदै जापान जाने कार्यक्रम तय भएपनि मिति अझै तोकिएको छैन । जापान रहँदा राष्ट्रपति भण्डारी राजा नारुहितोको राज्यभिषेक समारोहमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ ।
यस समारोहमा विश्वभरबाट नेताहरुलाई निम्ता दिइएको छ । म्यानमारमा भने द्धिपक्षीय सम्बन्ध बिस्तारका लागि राष्ट्रपतिको भ्रमण हुन लागेको बताइएको छ ।