काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना र डेंगुको महामारीका बीच हैजाको संक्रमण बढ्न थालेको छ । काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका हैजा संक्रमणको ‘रेड जोन’ मा परेको देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सात जनाभन्दा बढी भएका पालिकालाई रेड जोनमा राखेको छ ।
महाशाखाको पछिल्लो विवरण अनुसार काठमाडौं महानगरमा ४०, कागेश्वरी मनोहरा नगरपालिकामा नौ र ललितपुर महानगरमा आठ जनामा हैजा पुष्टि भएको छ । काठमाडौं उपत्यकाका १३ पालिकासहित नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा गरी हैजा संक्रमितको संख्या ७५ पुगेको महाशाखाले जनाएको छ । हालसम्म १४ वर्षमुनिका ९ जना बालबालिकालाई हैजा संक्रमण भएको छ ।