काठमाडौं । काठमाडौं महानगरपालिकाले दिएको २४ घन्टे अल्टिमेटम भित्रै भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ। भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई बुझाएको हो । यो पछिल्लो ५ वर्षमा कम्पनीले उठाएको मनोरञ्जन कर वापतको रकम हो । मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन कर महानगरलाई बुझाउनु पर्छ ।
फनपार्कले व्यवसाय कर र घर बहाल कर भने तिरेको छैन । ६० रोपनी जग्गा समाज कल्याण परिषदले फनपार्कलाई भाडामा दिएको हो । बहाल करको दस प्रतिशत कर परिषदले महानगरलाई बुझाउनुपर्छ । पछिल्लो समय जनताबाट रकम उठाए पनि सरकारलाई बुझाउनु पर्ने रकम नबुझाएका व्यापारिक फर्महरुमाथि महानगरपालिकाले कारवाही तिब्र बनाएको छ ।