काठमाडौं । केन्याविरुद्ध पहिलो एकदिवशीय क्रिकेटमा नेपालले जित निकालेको छ । यससँगै नेपालले तीन खेलको सिरिजमा अग्रता समेत लिएको छ । आजको खेलमा ओपनर आशिफ शेखको शतक प्रहार गरे । उनले अर्जुन साउदसँग बलियो साझेदारी गरेसँगै नेपालले पहिलो एकदिवसीयमा केन्यामाथि ७ विकेटको सहज जित निकालेको हो । २१९ रनको लक्ष्य नेपालले ३ विकेट क्षतिमा ४७.३ ओभरमा भेट्टायो ।
ओपनरद्वय आशिफ र अर्जुनले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गरे । एकदिवसीय क्रिकेटमा नेपालको यो अहिलेसम्मकै उच्च साझेदारी हो । चैतमा पपुवा न्युगिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए । यद्यपि केन्याको एकदिवसीय मान्यता नभएका कारण यो खेलको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हुँदैन ।
नेपालका लागि सिनियर टिमबाट पहिलो एकदिवसीय खेल खेलेका अर्जुनले ९७ बलमा ५ चौका र १ छक्कासहित ६१ रनको अर्धशतकीय पारी खेले । आशिफले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग मिलेर थप ५७ रनको साझेदारी गरे । ४३.५ ओभरमा केन्याका डेब्युटेन्ट विशाल पटेलको बलमा बोल्ड हुनुअघि आशिफले १२० बलमा १२ चौका र २ छक्कासहित ११० रनको लामो पारी खेले ।
ज्ञानेन्द्र २४ रनको व्यक्तिगत स्कोरमा आउट भए । दीपेन्द्र सिंह ऐरीले अविजित १९ र कप्तान रोहितकुमार पौडेलले ३ रन बनाए । यसअघि नैरोवीस्थित जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ४८.१ ओभरमा अलआउट हुँदै २१८ रनको योगफल खडा गरेको थियो । बलिङमा सोमपाल कामी र करण केसीले ३–३ विकेट लिए ।