काठमाडौं । घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले केन्यालाई १७ रनले हरायो । यससँगै नेपालले एक खेल अगावै सिरिज २–० ले जितेको हो । पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको थियो । दुई टोली बीचको अन्तिम खेल सोमबार हुनेछ । नेपालले यसअघि केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज पनि ३–२ ले जितेको थियो ।
जितका लागि नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको केन्या ४६।३ ओभरमा सवै विकेटको क्षतिमा २१३ रनमा समेटिएको थियो । केन्याका लागि रकिप पटेलले ८१ रन बनाए । कोलिन्स ओबुयाले ३७, नेल्सन ओधियाम्बोले २८ र गेरार्ड मुथुईले २० रन जोडे । बलिङमा नेपालका दीपेन्द्रसिंह ऐरीले चार विकेट लिए । सोमपाल कामीले तीन तथा करण केसी, आदिल अन्सारी र पवन सर्राफले एक एक विकेट विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा २३० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ्स खेले । ६७ रन बनाएका उनले ९५ बलमा सात चौका प्रहार गरेका थिए । देव खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदिल अन्सारीले १४ र करण केसी ११ रन बनाए ।