सुरक्षागार्डसँग झगडा गरेपछि पर्यटनमन्त्री श्रेष्ठ आलोचित, गार्डलाई ५ दिन थुनामा राख्न अनुमती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री जीवनराम श्रेष्ठसँग सुरक्षागार्डसँगको झगडामा आलोचित बनेका छन् । त्यसमाथि शक्तिको दम्भ देखाउँदै गार्डलाई पक्राउ गराएको भन्दै उनको आलोचना भएको हो । मन्त्रीसँगको विवादमा मुछिएका सुरक्षागार्डलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन थुनामा राख्न अनुमति दिएको छ ।

जिल्ला प्रशासनले आइतबार छायाँ सेन्टरका सुरक्षा गार्ड शेरजङ्ग गुरुङलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । क्यानडा जान श्रीमतीको बायोमेट्रिक गराउन गत शुक्रवार ठमेलमा रहेको छायाँ सेन्टरमा पुगेका मन्त्रीलाई सुरक्षा गार्ड गुरुङले लाइनमा बस्न आग्रह गरेका थिए ।

मन्त्री आउने पूर्व जानकारी नभएको भन्दै सुरक्षागार्ड गुरुङले अरु सेवाग्राही जस्तै उनले पनि लाइनमा बस्नु पर्ने बताएपछि विवाद भएको हो । त्यसपछि मन्त्रीका पीएसओ, मन्त्री र सुरक्षा गार्डको बीचमा धकेलाधकेल भएको बताइएको छ । प्रहरीले गुरुङलाई शुक्रवार नै पक्राउ गरेको हो ।