काठमाडौं\एजेन्सी । चीनमा सोमबार शक्तिशाली भूकम्प गएको छ । जसमा परी कम्तिमा ४६ जनाको मृत्यु भएको पुष्टी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा सोमबार ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो । १६ जना वेपत्ता भएको र दर्जनौ घाइते भएको समेत समाचारमा उल्लेख छ । स्थानीय समय अनुसार सोमबार दिउँसो १ बजे भुकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ।
भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिण पश्चिमस्थित दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहरमा रहेको छ। भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ। भूकम्पले दूरसञ्चारका लाइन विच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ। सरकारी सञ्चार माध्यम सिसिटिभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको छ।
भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दूरसञ्चार सेवा अवरूद्ध भएको छ। चिनीयाँ अधिकारीका अनुसार पहाडबाट ढुंगा र माटो खसेपछि सडक र बिजुली अवरुद्ध भएको छ।