बलात्कार मुद्दामा पलले पाए सफाई, बाल यौनदुराचारको मुद्दामा साढे २ वर्ष जेल

काठमाडौं । अभिनेता पल (पूर्णविक्रम) शाहले बलात्कार मुद्दामा सफाइ पाएका छन् । जिल्ला अदालत, नवलपुरले उनलाई सफाई दिएको हो । तर बाल यौन दुरुपयोगको मुद्दामा भने उनले साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना भोग्नु पर्ने भएको छ । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कार पुष्टि नभएपनि यौनजन्य अस्वभाविक व्यवहार देखाएको ठहर अदालतले गरेको छ ।

पल स्वयंमले आफू मदिरा सेवन गरेको तथा घटना भएको भनिएको दिन नाबापलका एक्लै सुत्न डराएको भनि भोलिपल्ट बेलुका एक्लै सुत्न डर लाग्छ लाग्दैन भनेर सोधपुछ गरेको स्वीकार गरेको र मेसेज लगायतका अन्य गतिविधिमा छलफल भन्दै पटकपटक भेटघाट गरेको देखिएको भन्दै अदालतले सो फैसला सुनाएको हो ।

‘मसँग कोही कसैले नजिक हुने चाहना राख्यो भन्दै त्यसलाई स्वीकार गरी वार्तालाप लगायतका नाबालिकासँग मेसेज लगायतका अन्य गतिविधिमा छलफल भन्दै पटकपटक भेटघाट गरेको देखिँदा मुलुकी अपराध संहिता २०७४ को दफा २२५(२) मा उल्लेखित अन्य कुनै किसिमको यौनजन्य अस्वभाविक व्यवहार गरेको देखिँदा यी प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले मुलुकी अपराध संहिताको दफा २२५ (२) विपरितको बाल यौन दुरुपयोगको कसुर अपराध गरेको ठहर्छ ।’ फैसलामा उल्लेख छ ।

फैसलामा पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन समेत भनिएको छ । अदालतले पीडितको अभिभावकलाई पनि सचेत गराएको छ । उमेर नपुगेको नाबालक छोरीलाई गायन र अभिनय क्षेत्रमा एक्लै छाडेको र आफूले पुरा गर्नुपर्ने अविभावकीय कर्तव्यबाट च्युत रहेका कारण यौन दुव्यर्वहार भएको भन्दै अदालतले ‘जाहेरवाला (पीडितका बाबु)लाई आगामी दिनहरुमा आफ्नो अविभावकीय कर्तव्य वहन गर्न र नाबालक छोरीलाई आफ्नो पूर्ण संरक्षणमा राख्न सचेत गराइन्छ ।’


गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग थियो । पीडितका बाबुले जाहेरीमा उल्लेख गरे अनुसार, सुटिङका क्रममा कलाकार शाह सहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैडाकोट रिसोर्टमा थिए ।

त्यही दिन राति कलाकार शाह पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको उल्लेख थियो । रिसोर्टमा भएको त्यो दिनको अभिलेखले समेत कलाकार पल शाह जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडितसमेत त्यही दिन रिसोर्टमा बसेको आरोपपत्रमा उल्लेख थियो ।