सत्ता गठबन्धनको कार्यदलले सकेन सिट बाडफाँट मिलाउन, जिम्मा शीर्ष नेतालाई

काठमाडौं । सत्ता गठबन्धनमा रहेको पार्टीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनाएको कार्यदलले आज आफ्नो प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउँदैछ । कार्यदलले ठोस निष्कर्ष भने निकाल्न सकेको छैन । बिहान नौ बजे बस्ने कार्यदलको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिने र शीर्ष नेताहरुलाई बुझाउने कार्यक्रम छ । साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

नेपाली कांग्रेसका पूर्वमहानमन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको थियो । तर सहमति नजुट्दा निर्धारित समयसीमामा कार्यदलले प्रतिवेदन बुझाउन सकेन । सहमति नजुटे बाँकी कामको जिम्मा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दिइने छ ।