मापदण्ड विपरितका सीमा पर्खाल ३५ दिन भित्र हटाउन महानगरपालिकाको ताकेता

काठमाडौं । काठमाडौं महानगरपालिकाले सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन ३५ दिने सयम दिएको छ । महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले यस्तो सूचना जारी गरेको हो । मापदण्डले कम्पाउण्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार गर्न घरधनीलाई सूचित गरिएको महानगरले जनाएको छ ।

कतिपय पर्खालहरु नक्सा पास नगरि निर्माण भएका पाइएकोले सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाउन सूचित गरिएको छ । सूचनाको बेवास्ता गरेमा सीमा पर्खाल हटाउने पनि महानगरले चेतावनी दिएको छ । सीमा पर्खाल हटाउँदा लागेको खर्च सरकारी बाँकी सरह सम्बन्धित घर जग्गा धनीबाटै असुल हुने महानगरको सहरी व्यवस्थापन विभागले जनाएको छ ।


महानगरले अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ । मापदण्ड अनुरुप निर्माण भएका तर नक्सा पास नगरिएका भवनलाई पनि महानगरले ९० दिनभित्र नक्सा पेस गरी नियमित गर्न सम्बद्ध व्यक्ति, संस्था, संस्थान र सरकारी निकायलाई समेत अनुरोध गरेको छ ।